कञ्चनरुप, १५ चैत्र । कञ्चनरुप नगरपालिकाले सरसफाइ नगरेपछि सप्तरीको कञ्चनरुप १२ रुपनगर प्रगति टोलका युवाहरुले करिव ५ सय मिटर नाला सफा गरेका छन् । उनीहरुले बिहिवार आफ्नो गाउँमा रहेको नाला सरसफाइ गरेर उदाहरणिय काम गरेका छन् ।
लामो समय बित्दा पनि नगरपालिकाले नालाको फोहोर नझिकेपछि प्रगति टोलका युवाहरुले सरसफाई गरेको हो ।
नाला फोहोर भएकोले वर्षाको समयमा समस्या हुने र सम्बन्धितले चासो नदेखाएपछि आफुहरु नै लागि परि सरसफाई गरिएको स्थानिय युवा सुमन खतिवडाले बताए ।
गाउँ समाजको परिवर्तन गर्न युवाहरु बाट सम्भव छ भन्ने उदेश्य राखि गाउँलाई सफा र सुन्दर बनाउन हामी युवाहरू एक जुट भई सरसफाइ अभियानमा लागेको खतिवडा बताउँछन् ।
आफ्नो गाउँ आफैंले बनाउने हो अरुको मुख ताकेर हसँदैन ,अरुको मुख ताकेर बसेमा समाजलाई कहिल्यै परिवर्तन गर्न सकिदैन त्यसैले हामी युवाहरु मिलेर गाउँको नाला सफा गरेका हौँ भन्छन अर्का युवा सुजित काफ्ले ।
सभ्य समाज निर्माण गर्न युवाहरुको प्रमुख दायित्व रहेकोले हामी प्रगतिटोलका युवाहरु मिलेर युवाहरुमा सकारात्मक संदेश जाओस भन्ने उदेश्य लिएर हामिले रचनात्मक कामको शुरुआत गरेको अर्का युवा निरन अधिकारी बताउँछन् ।
सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न समेत आग्रह गरेका छन् ।
रुपनगर प्रवेशद्वारबाट ५ सय मिटरभन्दा माथिसम्म सरसफाई गरिएको छ ।

















