शिक्षा समाज

पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षय कोषद्वारा छात्रवृत्ति वितरण

कञ्चनरुप , १५ बैशाख । पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षय कोष २०७८ ले शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कोषकी संरक्षक पण्डित चक्रप्रसाद आचार्यकी धर्मपत्नी नन्दकुमारी आचार्यको अध्यक्षतामा तथा रुपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख दिपक कुमार गजुरेलको प्रमुख आतिथ्यमा सर्बोदय माध्यमिक विद्यालय कंचनपुरमा अध्ययन गर्ने छात्रछात्राहरुलाई एक समारोहको बिच छात्रवृत्ति वितरण गरिएको थियो ।

२०८० सालको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने कक्षा ९ का छात्र विबेक यादव र छात्रा अंजलि सोनिलाई जनही नगद ७ हजार र प्रमाण पत्र , कक्षा ८ का छात्र राहुल कुमार शर्मा र छात्रा सन्ध्या चौधरीलाई जनही नगद ५ हजार र प्रमाणपत्र नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने कक्षा ९ की भावना कार्की , कक्षा ८ की आशाकुमारी साहलाई जनही नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजुरेलले समाजका मानिसहरुमा शिक्षा क्षेत्रको बिकासमा सकारात्मक सोचको बिकास नभए सम्म शिक्षा क्षेत्रमा सुधार आउन नसक्ने बताउनुभयो । समाजलाई रुपान्तरण गर्न पहिले सोचलाई बदल्न आवश्यक छ र धन भएर मात्र हुँदैन मन हुनु पर्यो अनि मात्र समाजलाई राम्रो बनाउन सकिन्छ गजुरेलले भन्नुभयो ।
विद्यार्थीहरुको मनोबल बढाउन अक्षय कोष स्थापना गरेकोमा आचार्य परिवारलाई धन्यवाद र छात्रवृत्ति पाउने विद्यार्थीहरुलाइ बधाई समेत दिनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णप्रसाद साह , इलाका प्रहरी कार्यालय कंचनपुरका प्रतिनिधि रमेशकुमार सिंह ,सर्वोदय माध्यमिक विद्यालय कंचनपुरका प्रधानाध्यापक तारानन्द मल्लिक लगायतका वक्ताहरूले छात्रवृत्ति कोष स्थापना गरेर आचार्य परिवारले समाजमा उदाहरणिय काम गरेको बताउनुभएको थियो ।
स्वागत मन्तब्य अक्षय कोषका उपाध्यक्ष श्याममणि आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्यका बारेमा कोषका संस्थापक मधुसूदन आचार्यले जानकारी गराउनुभएको थियो ।
अक्षय कोष २०७८ सालमा स्थापना गरि २०७९ सालमा पहिलो र आज दोस्रो छात्रवृत्ति वितरण गरिएको हो ।

   

You cannot copy content of this page