समाचार समाज

लागूऔषध दुर्व्यसनबाट जोगाउन अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने : मन्त्री लेखी

कञ्चनरुप, १५ वैशाख । मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सप्तरीको कञ्चनरुप नगरपालिका स्थित सर्वोदय उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा लागूऔषध दुर्व्यसन चुनौती र न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका करिब ६५० जना विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लेखीले लागू औषधको बिरुद्द यो अभियान निरन्तर सन्चालन गर्ने र यस अभियानमा सबैको सहभागिताको आवश्यक्ता रहेको बताउनु भएको छ । सबैको एउटै साझा लक्ष्य भनेको लागूऔषध सेवनकर्ताको संख्या र यसबाट हुने अपराध घटाउने रहेकोले यस अभिप्राय पूरा गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । लागूऔषध दुर्व्यसन चुनौती र न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु सान्दर्भिक भएको बताउँदै बालबालिकालाई लागूऔषध दुर्व्यसनबाट जोगाउन अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘जुनसुकै स्थान लागूपदार्थबाट आक्रान्त छ, अभिभावक पनि आजित छन्, नियन्त्रण आवश्यक छ । अब विद्यालयबाटै प्रवेश गरेर नियन्त्रण सम्भव हुनसक्छ ।’ हरेक घरपरिवार, टोल, गाउँ, समाज लागूऔषधबाट आक्रान्त हुँदैगएकाले त्यसबाट बचाउन यो अभियान थालिएको मन्त्री लेखीले बताउनुभयो । लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध समेत गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले विकृति विसङ्गतिरहित समाजको निर्माणका लागि युवा वर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याउन अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी नायब महानिरिक्षक यज्ञ बिनोद पोखरेलले अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध नियन्त्रणमा सबैको सहयोग अपरिहार्य रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सह महान्यायधिवक्ता कृष्णप्रसाद पुडासैनी, मन्त्रालयका निमित्त सचिब उत्तम खरेल ,एसपि गजुसिद्दी बज्राचार्य, कन्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ता लगायत विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि लगायतले लागू औषध नियन्त्रण गर्ने विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

सहभागि सबैको लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्न अभिभावकलाई थप जिम्मेवार बनाउनुपर्नेमा जोड थियो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका राजनैतिककर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्रालयको निमित्त सचिव उत्तम खरेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने ईलाका प्रहरी कार्यालय कन्चनरुपका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल र उच्च सरकारी वकिल कार्यालय राजबिराजका सह न्यायधिवक्ता कृष्ण प्रसाद पुडासैनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

   

You cannot copy content of this page