खेलकुद समाचार

सप्तरी प्रिमियर लिग : कञ्चनरूपको लगातार तेश्रो जितसंगै सेमिफाइनलमा प्रवेश

कञ्चनरुप, २३ जेठ । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न पहिलो खेलमा कञ्चनरूप राइनोजले तेश्रो जित निकालेसंगै सेमिफाइनलमा प्रवेश गरेको छ । चार खेलमा ३ जित र एक हार खेलपछि कञ्चनरूप राइनोज ६ अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार भएको पहिलो खेलमा कञ्चनरूप राइनोजले राजविराज राजदेवी एघारलाई ६ विकेटले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ । राजविराज राजदेवी एघारले दिएको १ सय ५५ रनको लक्ष्य कञ्चनरूपले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कञ्चनरूपको जितमा ओपनर शुभ कंशकारले आक्रामक ब्याटिङ गर्दै ९३ रन बनाए । जुन क्रममा उनले ५३ बलमा ८ चौका र ८ छक्काको मदतले ९३ रन प्रहार गरेका हुन । राहुल मण्डलले अविजित १८ बलमा २४ तथा राकेश कुमार कामतले २० बलमा २४ रन बनाए । राजविराज राजदेवी एघारका लागि विजय यादवले २ ओभरमा २१ रन दिएर २ विकेट लिए , श्रवण यादव र जितेन्द्र यादवले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाएको थियो ।
राजविराजका लागि श्रवण यादवले ३० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाए । यस्तै हिमाशु दत्तले २३ बलमा ४ चौका तथा २ छक्काको सहयोगमा ३१ रन बनाए । प्रियन्सु कर्णले २०, मन्नु दासले १५ र रिजन ढकालले १४ रन बनाए ।
कञ्चनरुपका लागि चित्र बहादुर बिष्ट र कप्तान राशिद खानले समान दुई दुई तथा अरनिको प्रसाद यादव र दिनेश अधिकारीले समान १÷१ विकेट लिए ।
कञ्चनरूप राइनोजका शुभ कंशकार खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।
राउण्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने लिगमा सबै टिमले एक अर्कासँग १÷१ खेल खेले पछि समूहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानलगायतले बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् । विजेतालाई ३ लाख र उपविजेतालाई साढे १ लाख राशी पुरस्कार रहेको आयोजकले जनाएको छ ।

   

You cannot copy content of this page