खेलकुद

सप्तरी प्रिमियर लिगको उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स भिड्ने

राजविराज, २७ जेठ । छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणको फाइनलमा पुगेको छ ।
आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा कञ्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले फाइनल तय गरेको हो। उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्स बिच सोमबार फाइनल खेल हुनेछ ।
पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कञ्चनरूप राइनोजले दिएको १ सय १८ रनको लक्ष्य छिन्नमस्ताले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।
छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भिम शार्कीले अर्धशतकीय योगदान दिए। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए । यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमित नेवारले ११ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भिमले फिर्दोश अन्सारीसंग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सोह्रौं ओभरमा भिम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिंग गर्दै टिमलाई जितसम्म डोर्‍याए । कञ्चनरूपको बलिंगमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन ।
यस अघि टस जितेर ब्याटिंग गरेको कञ्चनरूप राइनोजले १८.२ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । कञ्चनरूपका लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ रन, अभिषेक गौतमले १५ तथा शुभ कंसकार र महानन्द यादवले समान १३ रनको योगदान दिए । बलिंगतर्फ छिन्नमस्ता लायन्सका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा २४ रन खर्चिए । यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पार्नेछ। उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ।

   

You cannot copy content of this page