खेलकुद मधेस प्रदेश समाचार

तिरहुत टाइगर्सले जित्यो सप्तरी प्रिमियर लिगको उपाधि

कञ्चनरुप, २८ जेठ । राजविराजमा सोमबार सम्पन्न सप्तरी प्रिमियर लिगको छैठौं संस्करणको उपाधि तिरहुत टाइगर्सले जितेको छ ।
सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न फाइनलमा छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै तिरहुत टाइगर्सले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि सहित तिरहुत टाइगर्सले तीन लाख रुपैयाँ हात पारेको छ ।
तिरहुत टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो ।
छिन्नमस्ताको लागि विशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । राष्ट्रिय क्रिकेटर भिम शार्कीसहित ४ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।

तिरहुतको बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २५ रन खर्चिए । यस्तै प्लेयर अफ द म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए । बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको तिरहुत टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो ।
तिरहुतको लागि भोला कुमार साहले सर्वाधिक २९ रन योगदान दिए । बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरए दोहोरो अंकमा रन बनाउन सकेनन् ।

छिन्नमस्ताको बलिंगमा विशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए ।
उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिरहुत टाइगर्सका बसिर अहमद घोषित भए जसले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए । यस्तै उत्कृस्ट बलर छिन्नमस्ता लायन्सका बिशाल पटेल घोषित भए जसले ७ खेलमा १५ विकेट लिए । उत्कृस्ट ब्याटर कञ्चनरुप राइनोजका शुभ कंसकार घोषित भए जसले ७ खेलमा २९७ रन बनाए । यस्तै उदयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए जसले ७ खेलमा १२ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुत टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए ।
प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिध्यानन्द चौधरी, तिरुहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भयो ।
सप्तरी क्रिकेट संघको आयोजनामा एघार दिन चलेको प्रतियोगितामा सप्तरी जिल्लाका ६ वटा स्थानीय तहका टिमहरु सहभागी रहेका थिए ।

   

You cannot copy content of this page