समाचार

नेपाल जेसीजको इतिहासमा २६ वर्षपछि महिला अध्यक्ष, रजनी थापा र उज्जवल काबरा उपाध्यक्षमा निर्वचित

सप्तरी, ९ पुस । नेपाल जेसीजको इतिहासमा २६ वर्षपछि महिला अध्यक्ष निर्वाचित भएकी छिन् भने राजविराज जेसीजले १२ वर्षपछि राष्ट्रिय पदाधिकारीमा सामेल हुने अवसर पाएको छ ।
सुनसरीको इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि रजनी थापा अध्यक्षमा र राजविराजका उज्जवल काबरा उपाध्यक्षमा निर्वचित भएको महाधिवेशनमा सहभागी राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो । अध्यक्षमा मनोहरा जेसीजकी थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रामेछाप जेसीजका जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।
मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी थापाले यसअघि सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षलगायत विभिन्न क्षेत्र र संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।
अध्यक्षको लागि थापा र कार्कीसहित रश्मी शिल्पकार, विजय गुरुङ, नरेश चन्द्र ओझा र सुनिल तिम्सिना प्रतिस्पर्धाका आकांक्षी थिए । अध्यक्ष पदमा पाँच जना आकांक्षी भए पनि गएराति अन्य उम्मेदवार ककसमा सहभागी नभएपछि दुई जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।
गए राति सम्पन्न मतदान र मंगलबार विहान सार्वजनिक मतगणनाबाट थापा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत राजेशमोहन प्रधानले जानकारी दिनुभएको छ ।
प्रधानका अनुशार राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । देवचुलीका गणेशले ७८५, थानकोटकी एलिनाले ७३४, गीतानगरका कृष्णले ६८७ र बाग्लुङका सौरभले ६८३ मत ल्याएर विजयी भए । उक्त पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
त्यस्तै राष्ट्रिय उपाध्यक्षमा राजविराजका उज्जवल काबरासहित १२ जना निर्वाचित भएका छन् । जसमा म्याग्दीका सन्दीप खत्रीले १०६८, कपनका दीपक अधिकारीले १०६२, शुद्धोधनका धनराज कँडेलले १०३४, राप्तीका सुजन थापा काजीले १०२३, पालुङका संगम कार्कीले ९५८, लम्कीकी बविता पाण्डेले ९२२, सीतापाइलाका अभिषेक दुलालले ९०७, इटहरीकी सुमित्रा भट्टराईले ८७८ मत ल्याएर विजयी भएका यसैगरी राजविराज जेसीज २०२३ का अध्यक्ष उज्ज्वल काबरा ८२९ मतसहित विजयी भएका छन् । माडीका सुवास गौतमले ८१८, टंकी सिनवारीका राघव कोइरालाले ८०० र वालिङका मनिप्रसाद अर्यालले ७८३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा १७ जना उम्मेदवार थिए । जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।
निर्वाचित अध्यक्ष थापाले हेटौडा जेसीजका बिकेशलाल श्रेष्ठलाई महासचिव, तरहरा जेसीजका सुनिल तिम्सिनालाई कानुनी सल्लाहकार र कोहलपुर जेसीजका राम पाण्डेलाई कोषाध्यक्ष पदमा मनोनयन गरेकी छिन् ।

   

You cannot copy content of this page