कञ्चनरूप , २२ असोज । सप्तरी प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार करिब ५ बजे बोदेबर्साइन नगरपालिका–५ स्थित बजारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बोदेबर्साइनको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा देउरीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको म.प्र.०१–००६ प ०१३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा भारत, बिहार राज्यको मधुवनी जिल्ला लौकहा थाना क्षेत्रअन्तर्गत बलुवा बजार बस्ने २६ वर्षीय इम्तियाज आलम र सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर बस्ने २१ वर्षीय राकेश कुमार यादव पक्राउ परेका हुन्।
प्रहरीका अनुसार इम्तियाज आलमले लगाएको निलो रङको पाइन्टको खल्तीबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको थियो। डिजिटल तराजुमा प्लास्टिकसहित ७६ ग्राम ८८० मिलिग्राम र प्लास्टिक बाहेक ७० ग्राम रहेको प्रहरीले जनाएको छ।
ब्राउन सुगर, मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट दस दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












