प्यूठान – प्यूठान नगरपालिका–३ ओखरबोटमा गुडिरहेको बसको ढोकाबाट खसेर एक १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१२ बस्ने प्रकाश सुनारका अन्दाजी १० वर्षीय छोरा पुस्कर सुनार रहेका छन्।
प्रहरीका अनुसार शनिबार (असोज २४ गते) दिउँसो १५:४० बजे जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसको ढोकाबाट बालक अचानक तल खसेका थिए। खस्नासाथ सोही बसको पछाडिको टायरले किच्दा उनको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले बस र चालक दाङ घोराही उपमहानगरपालिका–१२ बस्ने प्रेम गिरीलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















