समाचार

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा 

राजविराज, १७ पुस । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । 
अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले फागुन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको हो । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ ।
अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महासचिव हिरामान लामाले बताउनुभयो ।
‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भन्नुभयो ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतमको बिशेष आतिथ्यता, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।
बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मुल ब्यवस्थापन समिति गठन गरेको छ ।

   

You cannot copy content of this page