उत्सव आचार्य
कञ्चनरूप, ९ असोज । अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेज क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी तथा सुरक्षा निकायका प्रमुखहरूले ब्यारेज आसपास तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रूपक खड्का लगायत सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेज क्षेत्रको स्थलगत निरीक्षण तथा अवस्थाबारे जानकारी लिँदै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी तथा ब्यारेज क्षेत्रमा नजान आग्रह गरेका छन्।

सुरक्षा अधिकारीहरूले कोशी नदीमा पानीको बहाव बढिरहेको अवस्थामा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने परिवारलाई आवश्यक सावधानी अपनाउन, महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा राख्न तथा जोखिमको अवस्था आएमा तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।
त्यस्तै, स्थानीय प्रशासनले कोशी नदीको जलस्तर तथा बहावको अवस्थालाई निरन्तर निगरानीमा राखेको जनाएको छ। सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रशासनले नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई अफवाहको पछि नलागी आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, बालबालिका तथा ज्येष्ठ नागरिकलाई नदी तथा ब्यारेज क्षेत्रतर्फ जान नदिनसमेत स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ।















