समाचार

कोशी स्नान तथा मेला भर्न आउनेहरूको घुइँचो

कञ्चनरूप ,२९ पुस । आज पुस महिनाको पुर्णिामा। कोशी स्नान गर्ने दिन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेजमा नुहाउनेहरुको घुइचो लागेको छ । हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसि पूर्णिमाको अवसरमा सोमबार बिहानैदेखि कोशी स्नान गर्ने तथा मेला भर्नेको घुइँचो लागेको हो ।
आजको दिन कोशी नदीमा नुहाए गंगा स्नान गरे सरहको पुण्य हुने धार्मिक बिश्वास रहेको छ ।
सप्तरीसहित, सुनसरी , उदयपुर, सिरहा ,मोरङ, झापा तथा भारतका सुपौल, सहरसा लगायत सिमावर्ती भारतीय क्षेत्रका हजारौं सर्वसाधारण आज बिहानैदेखि कोसी स्नान गर्न ब्यारेज पुगेका छन् ।
बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरूको दिनभरि घुइँचो लाग्ने गर्दछ ।
कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ ।
भक्तजनहरु स्नान गरि कोशीकै तटमा दहि च्युरा खाने परम्परा रहेको छ । भक्तजनहरु बेलगाडामा आउने यस मेलाको अर्को बिशेषता हो । कोशी मेला भर्न गोरुलाई बिभिन्न किसिमका घाटी घंटी बाधेर सिंगारिने गरिन्छ ।
साकाहारी भोजनका बिभिन्न परिकार तयार गरि यस क्षेत्रका बासिन्दाहरु घरका सम्पुर्ण सदस्य कोशी ब्यारेज पुग्ने गर्दछन् ।
मेलामा कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा ब्यवस्थामा समेत कडाइ गरिएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मुख्य सडकमै पर्ने कोशी ब्यारेज परेको हुनाले कोशी मेलामा सुरक्षित एवम् सहज तरिकाले मेला गर्ने उद्देश्यले व्यवस्थित गर्न ट्राफिक प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विशेष गरी जिल्लाको भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेग्जिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित धनकट्टा, कन्चनरुप ५ स्थित पथरि हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानहरूमा समेत भव्य मेला लागेको छ ।
कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरूको खरिद बिक्रीका लागि महत्त्वपूर्ण मानिन्छ । यस कारणले पनि कृषकहरुको कोसी मेलामा बढी उपस्थिति हुने गरेको स्थानीयहरू बताउँछन् ।
सुरक्षाका निम्ति जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न ठाउँमा कडा सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ ।

   

You cannot copy content of this page