कञ्चनरूप, २३ साउन । सप्तरीमा प्रहरीले ३ सय २ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा खेतबारीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
शनिबार दिउँसो करिब २ बजेको समयमा भारत बस्ने नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीमा खानतलासी गर्दा १२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७, मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको पाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















