समाचार

सप्तरीको बलानबिहुलबाट लागूऔषध सहित उदयपुरका दुई युवक पक्राउ 

कञ्चनरूप, २३ असार । सप्तरी प्रहरी लागूऔषध सहित उदयपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. २ बलान पुलबाट प्रहरीले आइतबार राति उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को लक्ष्मण मलाह र सोही ठाउँका वर्ष २४ को राजेश निरौलालाई लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बलान पुलबाट ३०० मिटर दक्षिण खोला छेउ स्थितमा प्रहरी चौकी मौवाहा सप्तरीबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिले भारतबाट नेपाल तर्फ पैदल आईरहेका उनीहरूलाई शंका लागी चेकजाँच गर्दा लागूऔषध बरामद भएको हो । 
उनीहरूले बोकेको कालो झोलाभित्र हेर्दा डाइजेपाम इन्जेक्सन ८६ पिस, फेनेरागन इन्जेक्सन ८६ पिस, वुप्रेनोफिन इन्जेक्सन ८८ पिस, सिमकार्ड नभएको कलक्स कम्पनिको कालो रंगको सादा मोवाईल सेट थान-१ बरामद भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । 
लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी इलाका प्रहरी कार्यालय कडरबोनामा ल्याई सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

   

You cannot copy content of this page