कञ्चनरूप, २३ साउन । सप्तरीमा बञ्चरो प्रहार गरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका १ पडरियामा शुक्रबार स्थानीय ४० वर्षीय लोकेन्द्र झालाई आफ्नै भाइले हत्या गरेका हुन ।
लोकेन्द्रका ३० वर्षीय भाइ नरेन्द्र झाले शुक्रबार बिहान १० बजे घरमै बञ्चरो प्रहार गरेर घाइते बनाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो ।
गम्भीर घाइते लोकेन्द्रलाई राजविराजमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । उनको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण घटना भएको देखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
बञ्चरो प्रहार गर्ने नरेन्द्र हाल फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।













