कञ्चनरुप, २३ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–९ का करिब ७४ वर्षीय मिश्रीलाल खंग रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ बजेको समयमा सप्तकोशी नगरपालिका–१ स्थित गोलचोक–फत्तेपुर सडकखण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको बा ५८ प २०२८ नम्बरको मोटरसाइकलले पैदलयात्री खंगलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका खंगलाई प्राथमिक उपचारका लागि फत्तेपुरस्थित मोडल हस्पिटल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक सप्तरीकै महदेवा गाउँपालिका–४ का २२ वर्षीय बिक्रमराज सुक्लालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सुक्लालाई सवारी ज्यान कसुर मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।













