बैतडी, २५ वैशाख । बैतडीको शिवनाथ गाउँपालिकामा एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीले घटनामा संलग्न रहेको आरोपमा शिवनाथ गाउँपालिका–०४ खडिक बस्ने ३७ वर्षीया तारा महता (परीक्षामा असफल हुने मुख्य व्यक्ति), ४२ वर्षीय प्रेम महता (ताराका श्रीमान), ३८ वर्षीय मोहन महता (ताराका देवर), ३४ वर्षीया सकुन्तला महता (ताराकी देउरानी) लाई पक्राउ गरेको छ ।
शिवनाथ गाउँपालिका–०४ लोजनीस्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार विद्यालय शिक्षकको परीक्षामा असफल भएको झोकमा प्रधानाध्यापकमाथि यो अमानवीय व्यवहार गरिएको हो। परीक्षामा अनुत्तीर्ण भएपछि आक्रोशित समूहले प्रधानाध्यापक ओझालाई निशाना बनाएका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शैक्षिक संस्थामा भएको यस्तो उच्छृङ्खल र अपमानजनक कार्यको स्थानीय स्तरमा चर्को विरोध र निन्दा भइरहेको छ।














