सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा परेर गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारत लखेमपुरका ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो। उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














