कञ्चनरुप, ५ जेठ। सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको ठूलो परिमाणको कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जेठ १ गते राति करिब ८ः३० बजेको समयमा सप्तरीको खडक नगरपालिका वडा नं. ८ खोजपुरस्थित नेपाल(भारत सीमा क्षेत्रबाट भन्सार छली र चोरी पैठारी गरी कपडाहरू ल्याइँदै थियो। प्रहरी टोलीलाई देख्नसाथ सामान ओसार्ने व्यक्तिहरू बोराहरू सोही स्थानमा छाडेर फरार भएका थिए।
वेवारिसे अवस्थामा भेटिएका ती बोराहरू खोलेर जाँच गर्दा प्रहरीले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको विभिन्न कपडाहरू फेला पारेको हो।
बरामद गरिएका कपडाहरूलाई आवश्यक कारबाहीका लागि जेठ ४ गते भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभएको छ।












