म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. ०६ डम्मरा बस्ने २२ वर्षीय आशिष थापालाई युवतीलाई ब्ल्याकमेल गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार थापाले एक युवतीसँग प्रेमको नाटक गरी अश्लील भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिँदै उनले युवतीबाट ९ लाख १० हजार ३७० रुपैयाँ बराबरको रकम र गरगहना ठगी गरेको प्रहरीको भनाइ छ।
पिडितको उजुरीपछि तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम कास्की र जिल्ला प्रहरी कार्यालय म्याग्दीको संयुक्त समन्वयमा टोली खटिएको थियो। प्रहरी टोलीले थापालाई जेठ ४ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ०६ लेकसाइडस्थित बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका थापामाथि म्याग्दी जिल्ला अदालतबाट ‘अपराधिक लाभ र विद्युतीय कारोबार ऐन’ अन्तर्गतको मुद्दा शीर्षकमा दिन ७ (सात) को म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन्।












