कञ्चनरुप, ७ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जवरजस्ती करणी तथा गर्भपतन जस्ता गम्भीर अपराधमा संलग्न दुई जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। प्रहरीले छुट्टाछुट्टै मुद्दाका दुई अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
पहिलो घटना अनुसार, सुरुङ्गा नगरपालिका वडा नं. ३ बस्ने ४३ वर्षीया रित कुमारी यादवलाई गर्भपतन गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
२०८२ साल फागुन २० गते शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित यादवको घरमा काम काजका लागि बसेकी ६० वर्षीया पीडित महिलालाई संलग्न भई गर्भपतन गराइएको थियो। घटना पश्चात् फरार रहेकी यादवलाई जेठ ६ गते पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै, दोस्रो घटनामा जवरजस्ती करणी (बलात्कार) को आरोपमा सुरुङ्गा नगरपालिका वडा नं. ८ बस्ने २५ वर्षीय शिव कुमार राम पक्राउ परेका छन्।
रामले २०८२ साल कार्तिक १० गते बेलुकी छठ पर्व हेरेर फर्कदै गरेकी पीडित महिलालाई डाक्नेश्वरी मन्दिर नजिकैको सडकमा पछाडिबाट मुख थुनी जवरजस्ती करणी गरेका थिए। घटना पश्चात् फरार रहेका रामलाई प्रहरीले जेठ ७ गते सुरुङ्गा–८ बाटै फेला पारी पक्राउ गरेको हो।
पीडितको जाहेरीका आधारमा पक्राउ परेका उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।















