समाचार

जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा

काठमाडौँ, ८ जेठ । नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार यस वर्षको बकर ईद जेठ १४ गते परेकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा रहने निश्चित भएको हो।

विगतको निर्णय तथा कानुनी व्यवस्थालाई आधार मान्दै गृह मन्त्रालयले मिति २०८२ साल कात्तिक १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्पष्ट पारेको छ।

सोही व्यवस्था र परम्पराअनुसार यस वर्ष मुस्लिम आयोगबाट मिति २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको आधिकारिक जानकारी तथा सिफारिस प्राप्त भएपछि मन्त्रालयले बिदाको यो सूचना जारी गरेको हो।

मुस्लिम समुदायले आपसी भाइचारा र त्यागको प्रतीकका रूपमा मनाउने यो पर्वका दिन देशभरीका ईदगाह र मस्जिदहरूमा विशेष प्रार्थना (नमाज) गरिन्छ। सरकारको यस निर्णयसँगै मुस्लिम समुदाय लगायत सम्पूर्ण नागरिकलाई पर्व हर्षोल्लासका साथ मनाउन सहज हुने गृह मन्त्रालयले जनाएको छ।

   

You cannot copy content of this page