समाचार समाज

बहुविवाह गरेको आरोपमा उदिप र कञ्चनरुपकी सुस्मिता पक्राउ

कञ्चनरुप, ७ जेठ । सप्तरीमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बहुविवाह कसूरमा दुई जना विरुद्ध मुद्दा दर्ता गरी कानूनी कारबाही अघि बढाइएको हो ।
पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका वडा नं. ४ मंगल हटिया बस्ने ३२ वर्षीय उदिप चौधरी र कञ्चनरुप नगरपालिका वडा नं. ६ बलुवा टोल बस्ने २६ वर्षीया सुस्मिता चौधरी रहेका छन् ।
प्रहरीका अनुसार उदिप चौधरीले जेठी श्रीमती डम्मरी गिरी बहाल रहँदा रहँदै गत जेठ १ गते कञ्चनरुप नगरपालिका वडा नं. ८ मगर टोलस्थित गणेश मन्दिरमा सुस्मिता चौधरीसँग दोस्रो विवाह गरेका थिए ।
उदिपकी जेठी श्रीमती डम्मरी गिरीले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
जेठ ६ गते दर्ता भएको उक्त मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।

   

You cannot copy content of this page