कञ्चनरुप, जेठ ८ गते । सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ बस्ने २९ वर्षीय सञ्जय खंग रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८२ वैशाख ५ गते शम्भुनाथ नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा रामप्रसाद साहको मृत्यु भएको घटनापछि फरार रहेका खंगलाई प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–१० बस्ने धिरेन्द्र प्रसाद साहले चलाएको प्र.२–००४ प १९११ नम्बरको मोटरसाइकलमा सवार निजको बुबा रामप्रसाद साह राजविराजबाट घरतर्फ जाँदै गरेका बेला डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडा चोकस्थित सडक खण्डमा प्रतिवादीले चलाएको स. ९ प ३७६० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका रामप्रसाद साहलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको थियो। चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज भई घरमा औषधि सेवन गरिरहेको अवस्थामा २०८२ पुस ६ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना पश्चात फरार रहेका खंगलाई खोजतलास गर्ने क्रममा जेठ ८ गते राजविराज नगरपालिका वडा नं. ६ बाट पक्राउ गरिएको हो। मृतकका आफन्त अमरेन्द्र कुमार साहको जाहेरीका आधारमा सवारी ज्यान मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन्।

















