समाचार

रुपनगरमा २५ दिने पञ्चेबाजा तालिम सम्पन्न, महिलामा बढ्यो सांस्कृतिक उत्साह

कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर, बस्तिपुरमा आयोजित २५ दिने आधारभूत पञ्चेबाजा तालिम शुक्रबार सम्पन्न भएको छ। लोप हुँदै गएको नेपाली मौलिक बाजा संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित तालिमप्रति नगरवासीले उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ।

नेवाः देय दवु कञ्चनरुप नगर कार्य समितिको आयोजनामा तथा कञ्चनरुप नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम नेवा समाज गुठी भवन रुपनगर, बस्तिपुरमा सम्पन्न भएको हो। तालिममा २५ जना महिलाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले भाषा, कला र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले छोटो समयमै प्रशिक्षार्थीहरूले पञ्चेबाजा बजाउन सिकेर उत्कृष्ट प्रस्तुति दिन सफल हुनु नगरकै गौरवको विषय भएको उल्लेख गरे। कार्यक्रममा प्रशिक्षार्थीहरूले पञ्चेबाजा बजाएर अतिथिहरूलाई स्वागत गरेका थिए। नगरप्रमुख गुप्ताले सहभागीहरूको लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा एड्भान्स तालिमसमेत सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

नगर उपप्रमुख मुनाकुमारी पोखरेलले लोपोन्मुख अवस्थामा पुगेको पञ्चेबाजाको संरक्षणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिँदै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरिन्। उनले यस्ता सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताइन्।
नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष दक्षनारायण श्रेष्ठले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै पञ्चेबाजाको बढ्दो मागका कारण महिलाहरूलाई रोजगारी र आम्दानीको अवसर सिर्जना हुने बताए। उनले सांस्कृतिक संरक्षणसँगै आत्मनिर्भर बन्न तालिम फलदायी हुने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले पञ्चेबाजा हाम्रो समाजबाट हराउँदै गइरहेको अवस्थामा यसलाई संरक्षण गर्न युवापुस्ता र महिलाको सहभागिता महत्वपूर्ण रहेको बताए। उनले तालिममा सिकेका सीपलाई निरन्तर अभ्यास गरी उत्कृष्टता हासिल गर्न सहभागीहरूलाई आग्रह गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेवाः देय दवु सप्तरीका जिल्ला अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जितबहादुर श्रेष्ठ तथा प्रशिक्षक सञ्चिता थापा मगरलगायतले पञ्चेबाजा नेपाली मौलिक धरोहर भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा राखेका थिए।
तालिममा सिन्धुलीका सञ्चिता थापा मगर, पार्वती थापा मगर र ममता श्रेष्ठले प्रशिक्षण दिएका थिए। समापन समारोहमा हालै नेवास् देय दवुको केन्द्रीय उपाध्यक्षमा निर्वाचित दक्षनारायण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
सोही अवसरमा नेवा समाजका ऐतिहासिक व्यक्तित्व संखधर साख्वाको शालिकमा माल्यार्पणसमेत गरिएको थियो।
कार्यक्रममा दीपक श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने नेवाः देय दवु कञ्चनरुप नगर कार्य समितिका अध्यक्ष कौशल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अमर श्रेष्ठले गरेका थिए।
स्थानीयवासीका अनुसार लोप हुँदै गएको पञ्चेबाजालाई पुनर्जीवन दिन आयोजना गरिएको तालिमले नगर क्षेत्रमा सांस्कृतिक चेतना र उत्साह थपिएको छ।

   

You cannot copy content of this page