कञ्चनरुप, १० जेठ । सप्तरी प्रहरीले विभिन्न मुद्दामा पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी, राजविराजले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लागूऔषध तथा कुटपिट अंगभंग मुद्दामा संलग्न प्रतिवादीहरू पक्राउ गरिएको जनाएको हो ।
प्रहरीका अनुसार लागूऔषध मुद्दामा राजविराज नगरपालिका–११ का ४८ वर्षीय श्याम नारायण यादव, राजविराज–५ का २४ वर्षीय निरज रजक, राजविराज–१० का १९ वर्षीय ललित कुमार दास र राजविराज–५ दुर्गाटोलका ३५ वर्षीय हरेराम यादव पक्राउ परेका छन् ।
उनीहरूलाई गाँजा लुकाइराखेको सूचनाका आधारमा प्रतिवादी श्याम नारायण यादवको घरमा लागु औषध गाँजा लुकाई राखेको सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा ४५ ग्राम ९७० मिलिग्राम गाँजा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेकामाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कुटपिट अंगभंग मुद्दामा डाक्नेश्वरी नगरपालिका–६ का २७ वर्षीय मोतिलाल सदा पक्राउ परेका छन् । उनीमाथि भोज खान नबोलाएको विषयलाई लिएर विवाद हुँदा इँटाले प्रहार गरी एक जनालाई घाइते बनाएको आरोप छ ।
वैशाख ६ गते नातामा काका ससुरा पर्ने विश्वनाथ सदाको छोराको विहेमा भोज खान नबोलाएको विषयलाई लिएर प्रतिवादीले पीडितलाई शरीका विभिन्न भागमा हिर्काई घाइते बनाई फरार रहेका थिए।
घटनापछि फरार रहेका सदालाई प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि पनि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


















