कञ्चनरूप, १२ जेठ। सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कुटपिट/लुटपिट मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका वडा नं. ०९ का अनुरुद नोनियार रहेका छन् । उनलाई रु. ७५०/- जरिवाना तोकिएको थियो।
त्यस्तै प्रहरीले चेक अनादर मुद्दामा फरार रहेका विष्णुपुर गाउँपालिका वडा नं. १ का बिरेन्द्र कुमार यादव र राजविराज नगरपालिका वडा नं. ०९ का मो. मेराजलाई पक्राउ गरेको छ ।
यादवलाई रु. १०००/- जरिवाना तोकिएको थियो भने मेराजलाई ५००/- जरिवाना तोकिएको थियो।
जिल्ला अदालत राजविराजको फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजतलास गर्दा फरार रहेका प्रतिवादीहरूलाई मंगलबार नै अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरका अनुसार पक्राउ परेका तीनै जनाबाट कुल २ हजार २५० रुपैयाँ जरिवाना असुलीका लागि सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा बुझाइएको छ।










