राजविराज, ३ साउन । सप्तरी प्रहरीले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको सुनारी डाईसहित एक कार र दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार अपराह्न करिब ४:३० बजे राजविराज नगरपालिका–७ स्थित उच्च अदालत जनकपुर, राजविराज इजलास अगाडि सार्वजनिक सडकमा सवारी जाँचका क्रममा BR 39 AV 0871 नम्बरको भारतीय कार रोकी जाँच गर्दा उक्त परिमाणमा सुनारी डाई बरामद भएको हो।
प्रहरीले कारको बीच सिट र पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको ६६८ थान सुनारी डाई फेला पारेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कार चालक भारतको बिहार राज्य, कटिहार जिल्ला, कटिहार ग्राम पञ्चायत दुर्गापुर पश्चिम टोल वडा नं. ३२ निवासी ४९ वर्षीय नाहिद मियानिजाम अख्तर र सोही कारमा सवार ५० वर्षीय मोहम्मद एकबाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।
बरामद सामग्री भन्सार छली गरी चोरीपैठारीमार्फत नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बरामद सुनारी डाई, कार तथा दुवै व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार राजविराज भन्सार कार्यालय, तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।













