राजविराज, २ साउन । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा शनिबार बिहान पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। कारागारभित्र केही दिनदेखि जारी आन्तरिक विवाद उत्कर्षमा पुगेपछि उक्त घटना भएको हो।
कारागार प्रशासनका अनुसार घटनालगत्तै सुरक्षाकर्मी र चिकित्सकको टोली तत्काल परिचालन भएर कैदीबन्दीहरूको उद्धार गरेकाले कुनै मानवीय क्षति हुन पाएन। आत्मदाहको प्रयास गर्ने पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।
प्राप्त जानकारीअनुसार कैदीबन्दीहरूले कारागारभित्र चौकीदार नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै जेलर रूपक मण्डलमाथि कारबाहीको माग गरेका छन्। उनीहरूको आरोप अनुसार नियुक्ति प्रक्रिया निष्पक्ष नभएको भन्दै विरोध जनाइएको हो।
स्रोतका अनुसार चौकीदारसँग भएको सामान्य विवादले विस्तारै तनावको रूप लिएपछि केही कैदीबन्दीले चरम विरोधस्वरूप आत्मदाहको प्रयास गरेका थिए।
घटनापछि कारागार प्रशासन, सुरक्षा निकाय र कैदीबन्दीबीच छलफल गरी स्थिति नियन्त्रणमा ल्याइएको छ। हाल कारागारको अवस्था सामान्य रहेको जनाइएको छ।












