चितवन, १८ कात्तिक । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको हो ।
प्राप्त जानकारीअनुसार, २०८३ कात्तिक १७ गते दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।
घटनाबारे उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो । खोजीका क्रममा कात्तिक १८ गते बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।







