बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाचार

सप्तरीमा रकम दोब्बर बनाइदिने भन्दै ठगी गर्ने हनुमानीसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर AI

कञ्चनरूप, १८ कात्तिक । पाँच लाख रुपैयाँ लगानी गरे दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाका ५२ वर्षीय हनुमानी भन्ने रामबहादुर रजक र ३४ वर्षीय गुन्जेश सिंह रहेका छन् ।

प्रहरीका अनुसार गुन्जेश सिंहमार्फत चिनजान भएका उदयपुरका एक व्यक्तिलाई रामबहादुर रजकले रकम दिए लगानी गरेको रकम दोब्बर बनाइदिने आश्वासन दिएका थिए । सोही प्रलोभनमा परेर पीडितले व्यापार गरी कमाएको पाँच लाख रुपैयाँ नगद दिएका थिए ।

तर, रकम दिएको लामो समयसम्म पनि फिर्ता नपाएपछि पीडितले पटक–पटक फोन सम्पर्क गरी आफ्नो रकम मागेका थिए । त्यसक्रममा आरोपितहरूले थप एक लाख रुपैयाँ दिनुपर्ने भन्दै माग गरेपछि पीडितले आफू ठगिएको महसुस गरेका थिए ।

गत कात्तिक १७ गते दिउँसो करिब २ बजे पीडित रामबहादुर रजकको घरमा पुगेर कुराकानी गर्ने क्रममा आफ्नो मोबाइलसमेत खोसी सम्पर्कविहीन बनाएको भन्दै उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले रजकको घरबाट दुवै जनालाई नगद एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको र कात्तिक १८ गते सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page