चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ।
बोटे मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि एक्कासी सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।
बिहान करिब ८ बजे सो क्षेत्रमा बाघ देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको सहयोगमा हात्ती प्रयोग गरी बोटेको खोजी थालिएको थियो।
खोजीका क्रममा साँझ ४ बजेर २० मिनेटमा घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
शव बोटेकै भएको उनका छोराले सनाखत गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















