काठमाडौं । काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सार्वजनिक सडकमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत भदौ १६ गते राति करिब १० बजे सेतो टिसर्ट र कालो पाइन्ट लगाएका, दाह्री–कपाल पालेका करिब २८/३० वर्षका देखिने एक अपरिचित पुरुषले सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीलाई अस्वाभाविक तरिकाले छोई ‘ब्याड टच’ गरेको आरोप छ।
उक्त घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ २० गते राति करिब ११ बजे सर्लाहीको कबिलासी नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्दै आएका ३० वर्षीय सालिन साहलाई काठमाडौं महानगरपालिका–२६, ठमेलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त, लैनचौरमा पठाइएको र उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















