समाचार

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना चालक पक्राउ

मकवानपुर, २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले सोमबार राति करिब २ः४५ बजे भाबरस्थित भित्री सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई चेकजाँचका लागि रोक्न खोज्दा पिकअप चालकले भाग्न खोजेका थिए। प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर कारसमेत जाँच गर्दा कारको सिटभित्र प्लास्टिकले बेरेर लुकाइराखिएको १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक र दोङ पिकअप चालक रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालक दोङले अगाडि रहेको कारलाई स्कर्टिङ गर्दै ल्याएको खुलेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, दुवै चालक तथा दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page