काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री–वितरण गरेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–८, रातोपुल बस्ने २५ वर्षीय महमद इमरान मन्सुरी (सञ्चालक), नुवाकोट घर भई काठमाडौं महानगरपालिका–७ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–८ रातोपुल बस्ने २१ वर्षीय सुजन रसाईली रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २० गते साँझ करिब ५:४० बजे काठमाडौं महानगरपालिका–८, रातोपुलस्थित सफिक मासु पसलमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पसलमा छापा मारेको थियो।
अनुगमनका क्रममा मासु पसलमा बाख्री काटेर मासु बिक्री–वितरण गरिएको तथा जिउँदो दुईवटा बाख्री काट्नका लागि तयारी अवस्थामा राखिएको फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।














