समाचार

ट्रकको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु

बारा । जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलस्थित सडकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका मोरङ, लाङटाङ नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो। तर, उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा घटनास्थल व्यवस्थापन गरेको थियो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page