कलाकार • मनोरन्जन • संगीत • समाचार

रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन

कञ्चनरूप , २६ असोज । धर्मेश्वर युवा क्लब, कञ्चनरुप–१२ रुपनगर, सप्तरीको आयोजनामा प्रथम रुपनगर मिनि महोत्सव २०८३ सोमबारदेखि रुपनगर चोकमा भव्य रूपमा सुरु भएको छ।
दशैं–तिहारलाई लक्षित गरी आयोजना गरिएको उक्त महोत्सव १५ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन्।
महोत्सवमा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। ज्योति मगर, एलिना चौहान, धिरज राई, कमल खत्री, रचना रिमाल, ममता चौधरी, अञ्जु कुश्वु, अनु चौधरी, आश्मा विश्वकर्मा लगायतका चर्चित कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने धर्मेश्वर युवा क्लबका अध्यक्ष रामकुमार सदाले जानकारी दिए।
दशैं–तिहारको अवसरमा स्थानीय बासिन्दासँगै आसपासका क्षेत्रका दर्शकलाई समेत लक्षित गरी महोत्सव आयोजना गरिएको अध्यक्ष सदाले बताए। उनका अनुसार महोत्सवले स्थानीय स्तरमा मनोरञ्जनको वातावरण सिर्जना गर्नुका साथै कला, संस्कृति र सामाजिक एकतालाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
महोत्सवलाई भव्य, सभ्य, अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्ने तयारी गरिएको समाजसेवी केवल खत्रीले बताए। महोत्सव अवधिभर दर्शक तथा आगन्तुकको सुविधालाई ध्यानमा राख्दै कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गरिने उनको भनाइ छ।
दशैं–तिहारको उल्लासमय वातावरणमा आयोजना गरिएको प्रथम रुपनगर मिनि महोत्सवले रुपनगर क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका कारण महोत्सवमा स्थानीयसँगै आसपासका क्षेत्रबाट समेत उल्लेख्य दर्शक आउने आयोजकको विश्वास छ।

You cannot copy content of this page