कञ्चनरूप, २६ असोज । सप्तरी प्रहरीले राजविराज नगरपालिका–७ स्थित भुतनाथ मन्दिरनजिकै रहेको एक घरबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रतिबन्धित पटाका लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा असोज २६ गते प्रहरी टोली खटिएर घरमा जाँच गरेको थियो। सो क्रममा विभिन्न प्रकारका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेका पटाकामा स्पिनर ३ प्याकेट, कोरियर १२ प्याकेट, फुलझरी ठूलो १ प्याकेट, सानो १ प्याकेट, ड्रोन २ प्याकेट, सोर्स ६ प्याकेट, ब्ल्याक सर्पेन्ट्स २ प्याकेट, रेड स्पार्कलर्स २५ प्याकेट, कुकु २ प्याकेट र १५ सट्स १० पिस रहेका छन्।
बरामद पटाकाको कुल परिमाण ४४ प्याकेट र १० पिस रहेको तथा यसको मूल्य करिब २० हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बरामद गरिएका पटाका आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ।
तिहार तथा छठ पर्व नजिकिँदै गर्दा प्रतिबन्धित पटाकाको ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।













