उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ स्थित एक किसानको धानबारीमा हात्ती मृत अवस्थामा फेला परेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको धानबारीमा हात्ती मृत भेटिएको हो।
सम्बन्धित निकायका अनुसार मृत भेटिएको हात्तीलाई ‘सानो दारे’ नामले चिन्ने गरिन्थ्यो। प्रारम्भिक जानकारीअनुसार उक्त हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै बस्दै आएको थियो।
धानबारीमा हात्ती मृत फेला परेपछि स्थानीय क्षेत्रमा चासो बढेको छ। हात्तीको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन।
हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायबाट थप अनुसन्धान तथा आवश्यक परीक्षणको विवरण आउन बाँकी छ।













