कञ्चनरूप, ११ कात्तिक । सप्तरीमा भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले २०८३ कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार आगामी कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न स्थानमा चक्रवात, मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा जुट्न सम्बन्धित सबैमा अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतोद्वारा जारी सूचनामा चक्रवात र भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने उल्लेख छ।
प्रशासनले उक्त अवधिमा अत्यावश्यक नभई टाढा तथा रातिको समयमा यात्रा नगर्न, साना तथा ठूला खोला र नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, जोखिमको संकेत देखिएका खोला किनारमा माछा मार्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न तथा आकस्मिक बाढी आउन सक्ने खोला, खहरे र पहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन पनि प्रशासनले अनुरोध गरेको छ।
धानबाली भित्र्याउँदा मौसम पूर्ण रूपमा सफा नभएसम्म नकाट्न तथा काटिसकेको धान सुरक्षित राख्नसमेत आग्रह गरिएको छ।
वर्षा र बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हटलाइन ११५५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीको जानकारी लिइरहनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।








