रुपन्देही, २६ कात्तिक । सार्वजनिक स्थानमा देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट तीन युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बिहीबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन् ।
प्रहरीले उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा सामाजिक मर्यादा, शिष्टाचार र नैतिकताविपरीतका गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।







