समाचार

राजविराजमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

राजविराज, असोज २५ गते । सप्तरीको राजविराज नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजको आयोजनामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत राजविराज नगरपालिकामा स्वास्थ्यका सवालमा स्थानीय सरकार तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नागरिकहरूको आधारभूत अधिकारको रूपमा रहेको स्वास्थ्यको क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्न प्रतिबद्धता रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताए ।

कार्यक्रममा सरोकारवाला निकायका सहभागीहरुले नगरपालिकाभित्र स्वास्थ्यको अधिकारमा देखिएका समस्याहरुको चर्चा गर्दै समाधानमा स्थानीय सरकारको भूमिकामाथि प्रश्नहरु उठाएपछि यादवले प्रतिबद्धता गरेका हुन् ।
उनले स्वास्थ्य चौकीमा निःशुल्क पाउने औषधि विवरणसहितको होर्डिङ्ग बोर्ड प्रत्येक वडा कार्यालयहरुमा राख्ने, कोभिड–१९ को खोपलगायत स्वास्थ्य सेवाका बारेमा प्रचार गर्ने, स्वास्थ्य बिमा सहयोगी र स्वास्थ्य चौकी प्रमुखहरुको कामको निगरानी बढाउने प्रतिबद्धता जनाए ।
आर्थिक वर्षमा सशर्त र निशर्त कार्यक्रम सुरु नभएको, गत वर्ष भन्दा बजेट कटौती भएकोले स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याउन नसकेको र साधनश्रोतको कमी रहेको समस्याबारे जानकारी गराए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले नागरिकको आधारभूत अधिकारका रुपमा रहेको स्वास्थ्य अधिकारबाट नगरवासी बञ्चित रहेकाले गम्भिर बन्न र संयुक्त रुपमा अनुगमन गरी जवाफदेही बन्न नगरपालिकासँग आग्रह गरे । सरकारी अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुको फितलो व्यवस्थापनले सेवाग्राहीको आकर्षण निजी अस्पतालतर्फ बढिरहेको भन्दै उनले मंहगोमा उपचार गर्नुपर्ने वा उपचार विना रोगी भएर मृत्यु पर्खनु पर्ने अवस्था अन्त्य गर्न ध्यानकर्षण गराएका थिए ।
निगरानी समूहका अध्यक्ष रघुबर साहले स्वास्थ्य सेवा प्रवाहका विषयमा नगरपालिकाले सहज ढंगले जानकारी दिनुपर्ने र नगरभित्र स्वास्थ्यका क्षेत्रमा सुधार ल्याउन निगरानी समूह अझै क्रियाशील हुने बताए ।

महिला स्वयम्सेविका कमली उपाध्यायले वडा नम्बर ४ र ५ बाहेक अन्य १४ वटा वडामा वडा अध्यक्षहरुले प्रकृया विपरित अन्य मानिसलाई स्वास्थ्य बिमा सहयोगी राखेकोले कार्यक्रम तल्लो तहसम्म प्रभावकारी हुन नसकेको बताइन् ।
स्वयमसेविका निर्मला पोखरेलले गर्भवती, सुत्केरीका लागि छुट्याइएको रु. ६० हजार र महिला स्वयमसेविका कोषको रकम खोजी गरि दिन आग्रह गरिन् । बौद्धिक अपाङ्ग संघकी राधा अर्यालले कोभिड–१९ को खोपमा विभेद भएको गुनासो गर्नुहुँदै स्वास्थ्य बिमालाई सहज बनाउन आग्रह गरिन् ।
स्वयमसेविका सीयादेबी कायस्थले नगरपालिकाको कमिकमजोरीका कारण काम गर्ने कर्मचारीहरू तथा सेवा लिने सेवाग्राहीहरूलाई असहज भइरहेको बताइन् ।
कार्यक्रममा नगरपालिकाका कर्मचारी, पत्रकार, अधिकारकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र निगरानी समूहलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page