समाचार

सप्तरीको राजविराजमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

राजविराज, २१ मङ्सिर । सप्तरीको राजविराजमा ‘लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान’ अन्तर्गत मङ्गलबार जिल्ला बार एकाई सप्तरीको संयोजनमा कानुनी साक्षरता कार्यक्रम भएको छ ।
लैङ्गिक हिंसा रोकथामका लागि कानुनी र व्यवहारिक ज्ञानमार्फत् सचेत बन्दै–बनाउँदै अभियानलाई प्रभावकारी र सार्थक बनाउनु पर्ने इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।
पोखरेलले १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन आवश्यक रहेको बताए ।


जिल्ला बार एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए । हिंसा नगर्न र नसहन तथा हिंसाको प्रतिवाद गर्न आवश्यक रहेको भन्दै उहाँहरुले संवैधानिक र कानुनी व्यवस्थाबारे जानकारी दिए ।

१६ दिने अभियान मूल समारोह समितिका अध्यक्ष अनीता देवकोटको उपस्थितीमा भएको कार्यक्रममा सचिव सुधा देव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नाउव निरीक्षक सुरेश पाल, एकल महिला समूहकी मन्जु साहलगायतले लैङ्गिक हिंसाबारे बोलेका थिए ।

   

You cannot copy content of this page