कञ्चनरुप, २५ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका कञ्चनपुरको आयोजनामा तथा सगरमाथा साहित्य परिषद्को संयोजनमा बुधवार नगरपालिकाको प्राङ्गणमा माध्यमिक विद्यालय स्तरको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले अब सप्तरी मुद्धामा होइन शिक्षा क्षेत्रमा एक नम्बर हुने विश्वास रहेको बताउनु भयो । शिक्षा क्षेत्रलाई एक नम्बर बनाउन गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी बनाउनु बनाउनु पर्नेमा जोड दिनुभयो । समाजलाई र देशलाई राम्रो बनाउने जिम्मा अहिलेका युवा तथा छात्रछात्राहरुको रहेको समेत उहाँले बताउनु भयो ।
उपप्रमुख निरु पोखरेलले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरु तिखार्ने र क्षमता अभिबृद्धि हुने बताउनु भयो । महिला र पुरुषको समान सहभागिता भएमात्र समाजले फड्को मार्ने उहाँले बतायनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धि भई बोल्ने शक्तिमा विकास हुने बताउँदै जो मानिस राम्रोसँग बोल्छ त्यसको पिठो पनि बिक्छ जो बोल्दैन त्यसको चामल पनि नबिक्ने उदाहरण पस्कनु भयो ।
प्रेस सल्लाहकार उत्तम आचार्य, पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेल, सप्तरीप्याब्सनका सचिव संजय शर्मा, शिक्षिका ललिता झा, शिक्षा शाखाका संयोजक ललित नारायण यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
“मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शीर्षकमा २४ वटा विद्यालयका ४४ जना छात्रछात्राहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागि भएका थिए । ४४ जना छात्रछात्रामा १५ जना छात्रछात्राहरु फाइनल चरणमा प्रवेश गरेका छन् ।
फाइनल चरणमा प्रवेश गर्नेहरुमा माध्यमिक विद्यालयखोक्सरकी अर्चना कुमारी यादव, भृकुटी माध्यमिक विद्यालय कञ्चनरुपकी प्रज्ञा कोइराला, ह्याप्पिल्याण्ड राजविराजकी कृषा सुवेदी, डेफोडिल कञ्चनरुपकी नन्दनी शर्मा, सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरका साहिल सिंह, मावि ओद्राहाकी सुमित्रा परियार, मावि कट्टीका मातृका प्रसाद यादव, अनुसा कुमारी पण्डित मावि त्रिमुत्ती छिन्नमस्ता, प्रतिक विष्ट मावि सप्तकोसी, श्रुति कुमारी मण्डल मावि मधवापुर, सुस्ता विष्ट गोबद्धन मावि फत्तेपुर, प्राप्ती बस्नेत मावि फत्तेपुर, उर्जा कुमारी साह मावि गोरगामा, सिकेन्द्र कुमार राम मावि बोदेबर्साइन, महेश खडका मावि फत्तेपुर रहेका छन् । फाइनल चरण २६ गते बिहीबार हुने आयोजकले जनाएको छ ।
वक्तृत्वकला प्रतियोगितामा सहभागि हुने २४ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।
सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
Add Comment