डम्बर राई /
कञ्चनरुप, जेठ १० गते । समाजिक विकास मन्त्री नवल किशोर साहले नेपालको संविधान २०७२ ले प्रत्यायोजन गरे अनुसार तीन तहको सरकारको अवधारणा रहेको बताउँदै सबैभन्दा महत्वपूर्ण स्थानिय तहको सरकार हो भन्नुभयो ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आयोजना गरेको पदस्थापन तथा विदाई कार्यक्रमलाई सम्वोधन गर्नुहुदै उहाँले भन्नुभयो स्थानिय तहको सरकारले तल्लो तहको जनताको प्रत्यक्षरुपमा काम गर्नुपर्छ र जनताका अमन चयनको लागि प्रमुख भुमिका निर्वाह गर्नुपर्छ ।
कञ्चनरुप नगरपालिका राजविराज पछिको दास्रो ठुलो र सक्षम नगरपालिका हो भन्दै मन्त्री साहले यहाँको विकास अरु पालिकाको भन्दा चाँडो अनी दिगो हुनेमा विश्वस्त हुनुभयो । पूर्व जनप्रतिनिधिहरुले निर्माण गरेको कामको प्रशंसा गर्दै पूर्वाधारहरु अनुकुलतानुसार भएकोले अबको निर्वाचित जिम्मेवारहरुले यसको पूरा गर्नुपर्छ सुझाव दिनुभयो ।
साथै कुनै पनि काम गर्दा पक्ष विपक्ष तथा तेरोमेरोको सोंचले काम नगर्न समेत सुझाव दिदै उहाँले भन्नुभयो, उच्च र सकरात्मक सोंच विचार लिइएर अघि बढनुस् म सहयोग गर्नेछु ।
सो समारोहमा जिल्ला न्यायधिश चन्द्रमणी काफ्लेले आफुलाई स्थानिय तहको भर्खरै सम्पन्न निर्वाचनमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शान्तीपूर्ण निर्वाचन भएको बताउनुभयो । निर्वाचनको मुल्य मान्यतामा जनता विश्वास गर्दछ भन्ने कुराको पुष्ट्याई यसपल्टको निर्वाचनले दिइएको प्रमुख निर्वाचन अधिकृतको भुमिका समेत निर्वाह गर्नुभएको काफ्लेले व्यक्त गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनप्रतिनिधिहरुको मुख्य भुमिका प्रतिको केहि कुरा कोट्याउदै नगरपालिकाले पकडेको पिकअपलाई कमहुन नदिन सल्लाह दिनुभयो । स्थानिय तहको सरकारले शान्ती सुव्यवस्थालाई सुदृढ गर्दै जनता खुशी के कसरी हुन्छन् त्यसमा ध्यान पुर्याउन सुझाव दिनुभयो ।
पूर्व वातावरण मन्त्री हेमराज तातेडले जनता सचेत भइसकेको र परिवर्तनको खोजीमा छन् त्यसैले पनि उनीहरुको काममा दत्तचित्त भएर लाग्न नव निर्वाचितहरुलाई सुझाव दिनुभयो । कञ्चनरुपका जनता बौद्विक तथा सबै कामको दक्ष हासील प्राप्त भएकोले यहाँको बिकासमा गतिरोध हुदैन बरु सहयोग प्राप्त हुन्छ गर्नेले गर्न सक्नुपर्यो ।
संविधान सभा सदस्य डा. सुवोध पोखरेलले सरकारले जनमुखी काम गर्न खोजेको छ तर सदनमा नेकपा एमालेले विरोध गरेर कार्वान्वयन गर्न नदिइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, देश बिकास सबै मिलेर मात्र सम्भव छ तानातान हानाहान गर्नै र सदनलाई अवरोध प्र्याउने जस्ता अनावश्यक कार्य गरेर कसैलाई फाइदा हुदैन ।
नगर प्रमुख ललन प्रसाद गुप्ताले आफ्नो कार्यकालमा भेदभाव रहित तथा पक्ष विपक्ष नराखी काम गर्ने प्रतिवद्घता गर्नुभएको छ । राम्रो काम गर्नेलाई प्रोत्साहन सहित पुरस्कार प्रदान गर्ने हौसला जनक कुरा गर्नुहुदै उहाँले भन्नुभयो हामी जनताको काम गर्न आएका हौ त्यसैले जनताको चित्त दुखाएर वा ढिला सुस्ती गरेर काम गर्नुहुन्न । आफ्नो कार्यकालमा गरीने प्रतिवद्घता पत्र समेत पाठ गरेर सुनाउनुभयो ।
ुआयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख बसन्त कुमार मिश्रले आफुले नगरपालिकाको सम्पूर्ण काम काजको सुरुवातीमा अप्ठेरो भएपनि जनताले बिश्वास गर्ने र मान्ने खालको काम गरेको दावी गर्नुभयो । कष्टकरसंग नगरपालिकाको काम गर्दे आज जिल्लामा प्रथम र प्रदेशमा दोश्रो स्थान ओगट्न सफल भएको जानकारी दिनुहुदै मिश्रले अबको काममा तेस्तो अप्ठेरो नहुने बताउनुभयो । आफुले निर्माण गरेको पूर्वाधारहरु जनमुखी भएको हुँदा यसलाई अक्षरस पालना गरी तोकिएकै समयमा पूरा होस् भन्ने माँग गर्नुभयो ।
उधोग वाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष शत्रुघन प्रसाद रौनियार, सहकारी महासंघका अध्यक्ष बिनोद दत्त, नगर उप प्रमुख मुना पोखरेल विभिन्न राजनैतिक दल प्रतिनिधि लगायतले बोलेका थिए ।
स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताद्वारा संचालित सो कार्यक्रममा नव निर्वाचित, निवर्तमान जनप्रतिनिधिहरु प्रमुख निर्वाचन अधिकृत, प्रजिअ, सुरक्षा निकायका कर्मचारी, स्वास्थ्य कर्मचारीहरु दल प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
निवर्तमान नगर प्रमुख र उप प्रमुख क्रमशः मिश्र र पोखरेललाई कदर पत्र प्रदान गरिएको छ । १२ वटै वडाका निवर्तमान वडाअध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख गुप्ताले गम्छा ओढाएर स सम्मान विदाई गर्नुभएको छ ।


Add Comment