कञ्चनरुप, १० मंसिर । सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी तेस्रो पटक विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उहाँले २३ हजार ४ सय ९१ मत ल्याई तेस्रो पटक विजयी हुनु भएको हो ।
चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार बालकिशोर यादवलाई ५५१४ मतान्तरले पराजित गर्नुभएको छ । पराजित यादवले १७९७७ मत मात्र ल्याउनु भएको छ । जनमत पार्टीका सुकदेव प्रसाद साहले १२ हजार ९२५ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु भयो ।
चौधरी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित हुनु भएको थियो । उहाँ २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो ।
यो परिणामसँगै प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । चार वटा प्रतिनिधिसभा क्षेत्र रहेको सप्तरीमा क्षेत्र नम्बर १ मा जसपाका नवलकिशोर साह, २ मा जनमतका सीके राउत, ३ मा कांग्रेसका दिनेशकुमार यादव र ४ मा काग्रेसकै तेजुलाल चौधरी विजयी हुनु भएको छ ।
सप्तरीमा कुल ८ प्रदेशसभा क्षेत्रमध्ये जनमत पार्टीले ४ तथा एमाले, कांग्रेस, नेकपा (एस) र स्वतन्त्रले एक÷एक स्थानमा जित निकालेका छन् ।
Add Comment