राजविराज, २९ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा पत्र कार्यवाहक नगर प्रमुख अनिताकुमारी चौधरीलाई हस्तान्तरण गरेका छन् ।
मानव अधिकारका सवालहरू (वातावरणीय अधिकार, शिक्षा, स्वास्थ्य, विभेद र सामाजिक कुसंस्कार) सम्वोधन गर्दै मानव अधिकार मैत्री समाज निर्माण गर्न तर्जुमा गरिएको अवधारणा पत्र मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले कार्यवाहक नगर प्रमुख चौधरीलाई हस्तान्तरण गरे ।
अवधारणा पत्र अनुसारको कार्यक्रम सञ्चालन भएमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री घर, समुदाय र स्थानीय तहको घोषणा हुने, मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनमा सहयोग पुग्ने, शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक र जातीय विभेद विरुद्धको हकको संरक्षण र सम्वद्र्धन हुने, जनसमुदायमा मानव अधिकार शिक्षाबारे जनचेतना फैलिने प्रतिफल प्राप्त हुने विश्वास गरिएको छ ।
नगरपालिका क्षेत्रमा देखिएका मानव अधिकारका सवालहरू सम्वोधन गर्न सोही अनुसारको कार्यक्रम सञ्चालनको माग राखि अवधारणा–पत्र बुझाइएको समूहका अध्यक्ष भगतले बताए । अवधारणा पत्रमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूको संरक्षण र सम्वद्र्धन गर्ने, प्रत्येक वडामा मानव अधिकार शिक्षा सम्बन्धी जनचेतनामा अभिवृद्धि गर्ने, बालविवाह, बालश्रम, बालयौन दुव्र्यवहार, बालजन्य हिंसा, दाइजो प्रथा, बोक्सी प्रथा र जातीय विभेद जस्ता सामाजिक विकृतिहरूमा कमी ल्याउने उद्देश्य समेटिएको छ । नगरपालिकालाई मानव अधिकारप्रति जिम्मेवार बनाउन मानव अधिकार समूहले समय–समयमा ध्यानाकर्षण गर्दै आइरहेको अध्यक्ष भगतले बताए ।
मानव अधिकार शिक्षा कार्यक्रम संयोजक बरुण बस्यालले नागरिकको आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने राज्यको जिम्मेवारी रहेकाले स्थानीय तह मानव अधिकार प्रति जवाफदेही बन्नुपर्ने र मानव अधिकारमैत्री समाज निर्माणका लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।
अवधारणा पत्र हस्तान्तरण कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, नगरपालिकाको कार्यपालिकाका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, मानवअधिकार समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
अवधारणा–पत्र बुझ्नु हुँदै कार्यवाहक नगर प्रमुख चौधरीले नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धका अधिकारहरूसँग केन्द्रित अभियान र कार्यक्रमहरू सञ्चालन गरिने विश्वास दिलाइन् ।
Add Comment