कञ्चनरुप, ३ साउन । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रको मधेश प्रदेशको एक संसदिय टोलिद्वारा निरीक्षण गरिएको छ । प्राकृतिक श्रोत तथा वातावरण समितीको टोलिले बुधबार स्थलगत निरीक्षण गरेको हो ।
टोलिले वडा नम्बर–१२ को सुन्दरी, बन्द्राहा, अमहा, नुनिया र पौडाहा नदीले पुर्याउने धनजनको क्षतिका बारेमा जानकारी लिनुका साँथै सामुदायिक वन, सरकारी वनको अवस्थाका बारेमा समेत जानकारी लिइएको थियो ।
टोलिमा सांसद राज कुमार लेखी, सारदा पहाडी, ममता मण्डल, इन्दु साह, नुर नेशा, सकिल अलि, त्रिभुवन साह रहेका थिए ।
१२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगर (सोम), सञ्चारकमी उत्तम आचार्य लगायतका व्यक्तिहरुले नदीबाट हुने समस्या, सिँचाई, वातावरण संरक्षण, बाटोघाटो, विद्यालय , क्याम्पस र पर्यटन क्षेत्रको विकासका बारेमा जानकारी गराएका थिए ।
प्रदेश सभा सदस्य एवम पूर्व कानुन मन्त्री राजकुमार लेखीले धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रलाई नमूना बनाउन आफू लागि पर्ने बताए । सांसद सकिल अलिले यस पर्यटन क्षेत्रको विकासका लागि आफूले पहिलेदेखि नै चासो राख्दै आएकोले आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताए । सांसद सारदा पहाडीले मधेश प्रदेशकै उदगम स्थल रहेको यस पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । फ्रिज भएर जाने रकम यस्ता ठाउँमा लगानि गर्नुपर्नेमा जोड दिइन् ।
सांसद त्रिभुवन साहले यस पर्यटन क्षेत्रको विकास हुन जरुरी रहेको बताउँदै यसको विकास भएमा वातावरण पनि राम्रो हुने भएकाले यस क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताए ।
यस पर्यटन क्षेत्रको विकासका लागि दशैं अगावै एउटा विशेषज्ञ टोली ल्याई अध्ययन गरिने समेत टोलीले बतायो । टोलीले प्राकृतिक धाराको समेत अवलोकन गरेको थियो ।
Add Comment