समाचार

यौन दुर्व्यवहार घटनाको कसुरमा १४ वर्षीय बालकलाई सुधार गृहमा राख्ने फैसला

राजविराज, ९ असोज । सप्तरीमा नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ हजार रुपियाँ जरिवाना तिर्न र ३० हजार रुपियाँ क्षतिपूर्ति भर्न समेत फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताउनु भयो ।
अनुचित प्रभावमा पारी आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७९ मङ्सिर २५ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७९ मङ्सिर २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २५ गते उजुरी दर्ता गरेको थियो । आरोपित मङ्सिर २८ गते गिरफ्तार भएका थिए ।
सप्तरी जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुस १८ गते बालकलाई संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।
बाख्रा चराउन २०७९ मङ्सिर १६ गते दिउँसो घरदेखि एक किलोमिटर उत्तर स्थित फुलबारी जङ्गल गएका बेला छुरा देखाई आँखा बाँधी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
– मनोहरकुमार पोखरेल

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page