समाचार

राजविराजका जेष्ठ नागरिकहरू सम्मानित

राजविराज, १४ असोज । जेष्ठ नागरिक संघ र पूर्व कर्मचारी सेवा परिषद्ले जेष्ठ नागरिक दिवसको अवसरमा राजविराजका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । राजविराजका तीन जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर आशिर्वाद लिँदै आयोजक संस्थाले सम्मान गरेको हो ।
राजविराज नगरपालिका–५ का ९३ वर्षीया मुखियादेवी दास, राजविराज–९ का ८५ वर्षीय बौवालाल यादव र राजविराज–६ की मेनकादेवी पोखरेललाई यो वर्ष सम्मान गरिएको हो । सप्तरीमा वर्षेनी जेष्ठ नागरिक संघ र पूर्व कर्मचारी सेवा परिषद्ले जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।

जेष्ठ नागरिकका लागि स्थानीय तहहरूले बजेट छुट्याउने गरे पनि कार्यक्रमका लागि आधा रकम कमिशन माँग्ने गरेकाले सहकार्य छाडेर संघ र परिषद् मिलेर कार्यक्रमहरूलाई निरन्तरता दिएको जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैद्यनाथ झाले बताउनु भयो । जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नका लागि संबिधान कार्यान्वयन हुनुपर्ने बताएका झाले अल्जाइमर्स दिवसका बारेमा समेत चर्चा गर्नुभयो ।
संघ तथा परिषद्का सल्लाहकार पूर्व सिडिई रामनरेश सिंहले जेष्ठ नागरिकको अनुभव र क्षमताको कदर तथा सम्मान गर्न सके सहज जीवनयापन हुने बताउनुभयो । परिवार, समाज र राष्ट्रलाई जेष्ठ नागरिकले दिएको योगदानको कदर गर्न सिंहले माँग गर्नुभयो ।

अधिकारकर्मी तथा साहित्यकार मनोहरकुमार पोखरेलले संघर्षपूर्ण भोगाइबाट मात्र जीवन बुझ्न सकिने भन्दै ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि परिवार, समाज र राज्यले अनुकूल परिस्थिति निर्माण गर्न ढिलो भइरहेको बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले अमुल्य निधि रहेका ज्येष्ठ नागरिकलाई सेवा सुबिधा सहज ढंगले उपलब्ध गराउन सबैले ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।
परिषद्का अध्यक्ष सुगम्बर यादवको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले हरेकका घरमा जेष्ठ नागरिक हुने र जीवनमा एकपटक जेष्ठ नागरिक हुनुपर्ने भएकोले जेष्ठ नागरिकको सम्मान भनेको आफ्नै सम्मान भएको बताउनुभयो ।
संघका कार्यवाहक अध्यक्ष शंकर शारदाले स्वागत र सदस्य हितनारायण लाल दासले सञ्चालन गरेको कार्यक्रममा अवकाशप्राप्त कार्यालय प्रमुखहरू र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page